Sagun Khabar
आत्महत्या रोकथाम लागि विद्यालयमा पुगेर सचेतना फैलाउँदै बैतडी प्रहरी 

बैतडी –आत्महत्याका घटना बढ्दै गएपछि बैतडी प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा पुगेर सचेतना फैलाउन थालेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट टोली खटेर विद्यालयहरुमा सचेतना कक्षा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । 

जिल्लामा गएको आर्थिक बर्षमा ३६ जनाले आत्महत्या गरेको तथ्यांक छ । पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले त्यसको रोकथामका लागि प्रहरीले अभियान सञ्चालन गरेको हो । 

खास गरेर किशोरावस्थाका मानिसहरुलाई आत्महत्या रोकथामका बिषयमा सचेतीकरण गराउने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनले भने ‘अहिले हामीले जिल्लाका सबै ठाउँमा विद्यालयहरुमा अभियान सञ्चालन गरिरहेका छौं । खास गरेर आत्मत्या रोकथामका लागि हामीले सचेतना कक्षा सञ्चालन गरिरहेका छौं ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गएको साउन र भदौमा मात्रै १८ ओटा विद्यालय सहित ६८ ठाउँमा कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आत्महत्या रोकथामका लागि अभिभावकहरुलाई समेत जानकारी गराउने गरिएको प्रहरी प्रवक्ता जोशीले बताए । 

विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, लागू पदार्थ नियन्त्रण, आत्महत्या रोकथाम लगायतका बिषयमा छलफल हुने गरेको छ । समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउनका लागि प्रहरीले सक्रियता देखाएको हो । जिल्लाभरीमा विद्यालय र समुदायसंग समन्वय गरेर सचेतनामूलक कार्यक्रम भइरहेका प्रहरी नायब उपरीक्षक शाहीले बताए । 

लागू पदार्थको प्रयोगमा रोक लगाउन प्रहरीले सक्रियता देखाएको शाहीले बताए । लागू पदार्थकै कारण समाजमा विभिन्न खालका अपराध हुने भएकाले त्यसको नियन्त्रणका लागि प्रयास भइरहेको उनले बताए ।

विद्यालयमा पुगेर प्रहरीले सचेतना दिने कार्यले समाजमा परिवर्तन आउने जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीहरु मार्फत समाजमा हुने आपराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update