बैतडी –यही असोज ३० र ३१ गते सञ्चालन हुने कक्षा १२ को ग्रेड वृद्धि परीक्षाका लागि बैतडीमा ६ ओटा केन्द्र तोकिएका छन् । जिल्लाको विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन, डिलेश्वरी मावि हाट, अर्जुन मावि गाँजरी, मणिलेक मावि काँडा र कुलाउ मावि कुलाउमा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।
विद्यार्थीहरुलाई सहजताका लागि पायक पर्ने ठाउँमा केन्द्र राखिएको अवस्थीले बताए । भौगोलिक दुरीलाई ध्यानमा राखेर केन्द्र तोकिएको उनले बताए । उनले भने ‘यो पालि हामीले भौगोलिक विकटतालाई ध्यान दिएर केन्द्र तोकेको छौं । यसले परीक्षार्थीहरुलाई सहज होस भन्ने हाम्रो चाहना हो ।’
ग्रेड वृद्धि परीक्षाका लागि डिलेश्वरी मावि हाट, अर्जुन मावि गाँजरी, मणिलेक मावि काँडा र कुलाउ मावि, कुलाउमा पहिलो पटक केन्द्र तोकिएको हो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको निर्णय अनुसार केन्द्र तोकिएको अवस्थीले बताए ।






