बैतडी –विभेदपूर्ण लिंग छनौट अन्त्य सम्बन्धि राष्ट्रिय रणनीति २०७८–२०८८ सम्बन्धि छलफल कार्यक्रम बैतडीको पाटनमा सम्पन्न भएको छ । पाटन नगरपालिकाको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र फाया नेपालको सहयोगमा छलफल सम्पन्न भएको हो ।
लिंग पहिचान गरेर भू्रण हत्या गर्ने क्रम बढ्दै गएको भन्दै छलफलका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समयमा छोरीको भन्दा छोराको संख्या बढ्दै गएको र यसमा भु्रण पहिचान गरेर हत्या गर्ने कारण मुख्य रहेको सरोकारवालाहरुले बताएका छन् ।
छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरीले विभेदपूर्ण लिंग छनौट हुँदा समाजमा समस्या निम्तिएको बताइन् । भ्रुण पहिचान गरेर छोरी भए गर्भपतन गर्नेहरुको संख्या बढ्दै गएको र यो गैरकानुनी कार्य भएको उनले बताइन् ।
सरकारले विभेदपूर्ण लिंग पहिचान अन्त्य सम्बन्धि राष्ट्रिय रणनीति ल्याइसकेकाले यो नीतिका बिषयमा तिनै तहका सरकारले जानकारी गराउनुपर्ने बताइन् । यस्तै लिंग पहिचान गरेर भु्रण हत्या गरेमा कानुनी कारवाही हुने भएकाले यो बिषयमा सबै क्षेत्रमा जानकारी गराउनुपर्नेमा उनले जोड दिइन् ।
विभेदपूर्ण लिंग छनौट अन्त्य सम्बन्धि रणनीति कार्यान्वयन गर्नका लागि पाटन नगरपालिकाले कार्ययोजना बनाएर अघि बढ्ने समेत बताएको छ । नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराको संयोजत्वमा कार्यदल गठन गरिएको र यसले विभेदपूर्ण लिंग छनौट अन्त्य सम्बन्धि स्थानीयस्तरको कार्ययोजना बनाउने समितिका सदस्य एवं पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । पाटनमा समेत छोरी जन्माउने आमा भन्दा छोरा जन्माउने आमाको संख्या बढ्दै गएको छ । यसमा लिंग पहिचान गरी भु्रण हत्या गर्नेको संख्या बढ्दै गएको उनले बताए । प्राकृतिक रुपमा छोरीको जन्म बढी हुने भएपनि पछिल्लो समयमा छोरीको भु्रण हत्या हुन थालेको उनले बताए ।
छलफल कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले विभेदपूर्ण लिंग छनौट अन्त्य सम्बन्धि कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै स्थानीय तह सहजीकरण समितिका संयोजक एवं उपप्रमुख कमलसिंह बोहराले यस्ता खालका हानिकारक प्रचलन अन्त्यका लागि नगरपालिकाले सदैव पहल गर्ने बताए ।
छलफल कार्यक्रममा पाटन नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।




