बैतडी –आफ्नो नागरिकतामा केही त्रुटि भएमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न बैतडी प्रशासनले आग्रह गरेको छ । नागरिकताको प्रमाणपत्र जारी गर्दा कसैको नागरिकतामा केही मानवीय र प्राविधिक त्रुटि हुन सक्ने भएकाले त्यसलाई सच्याउनका लागि प्रशासनमा सम्पर्क राख्न आग्रह गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीले जारी गरेको एकजनाको नागरिकतामा मानवीय र प्राविधिक त्रुटिको कुरालाई सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रशासनले यस्तो आग्रह गरेको हो ।
बैतडीको सुर्नया ४ का एकजनाको नागरिकतामा महिला हुने ठाउँमा पुरुष लेखिएपछि अहिले सो कुरा सामाजिक सञ्जालमा भाइरल भएको छ । यो मानवीय त्रुटी भएकाले यसलाई भाइरल बनाउन आवश्यक नरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । काम गर्दै जाँदा कतिपय ठाउँमा मानवीय त्रुटि हुने भएकाले त्यसलाई सच्याउन सकिने उनले बताए ।
एकजनाको मात्रै नभएर कामको सिलसिलामा अरुकोमा पनि त्रुटी हुन सक्ने भएकाले त्यस्तो त्रुटी भएमा जिल्ला प्रशासनमा सम्पर्क राख्न समेत आग्रह गरिएको छ । सामाजिक सञ्जालमा भाइरल बनाउनु भन्दा पहिला सम्बन्धित निकायमा सम्पर्क राखेर त्रुटी सच्याउन सकिने उनले बताए ।




