बैतडी –बैतडीको पाटन नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति बनाउने भएको छ । बालविवाह एक सामाजिक समस्याको रुपमा रहेकाले यसको अन्त्यका लागि रणनीति बनाएर अघि बढ्ने तयारी भएको नगर प्रमुख गौरीसिंह रावलले बताए ।
बालविवाहका कारण मानव जीवनमा प्रभाव परीरहेकाले यसको अन्त्यका लागि नगरपालिका रणनीति बनाएर अघि बढ्ने योजनामा रहेको नगर उपप्रमुख कमलसिंह बोहराले बताए ।
बैतडीको पाटनमा बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम समेत सञ्चालनमा रहेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा पीसवीन नेपालले रुपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको हो । सोही कार्यक्रम अन्तर्गत पाटन नगरपालिकाको बालविवाह अन्त्य सम्बन्धि रणनीति बनाउन प्राविधिक सहयोग गरिररहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
बालविवाह अन्त्यका लागि रणनीतिको खाका बनाइसकेको र त्यो खाकाका बिषयमा जनप्रतिनिधिहरुसंग छलफल समेत भएको छ । छलफलका क्रममा सहभागीहरुले बालविवाह अन्त्यका लागि नगरपालिकाले ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका छन् ।
पाटन नगरपालिकाले हानिकार प्रथा अन्त्य सम्बन्धि नीति बनाइसकेकाले सोही नितीमा टेकेर बालविवाह अन्त्यका लागि रणनीति बनाउने तयारी भएको हो । बालविवाह अन्त्यका लागि रणनीति बनाएर अघि बढेमा बालविवाह रोकिने सरोकारवालाहरुले बताएका छन् । अहिले पनि बालविवाह कायम रहेकाले यसको न्यूनीकरणका लागि नगरपालिकाले नीति बनाएर अघि बढ्नु आवश्यक रहेको बताइएको छ ।




