बैतडी –सत्ता गठबन्धन दलहरुबीच सीट बाँडफाँडका बिषयमा अझै कुरा मिल्न सकेको छैन् । बैतडीकामा प्रतिनिधि सभा र प्रदेश सभामा कसले टिकट पाउने भन्ने टुंगो लागेको छैन् । तर नेपाली कांग्रेसभित्र टिकटका आकांक्षी बढी भएका कारण व्यवस्थापनमा निकै समस्या भएको छ । बैतडीको टिकटका लागि के भइरहेको छ भन्ने बिषयमा हामीले नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति तेजबहादुर चन्दसंग कुराकानी गरेका छौं ।
बैतडीमा टिकटको लागि के भइरहेको छ ? तपाईले टिकट पाउने संभावना रहेन हैन त ?
गठबन्धन भित्र टिकटको टुङ्गो लागिसकेको छैन , छलफलकै चरणमा छ । सकेसम्म पार्टीले उचित निर्णय गरोस भन्ने मेरो चाहना हो, यदि कार्यकर्ताहरूको भावना विपरीत टिकट वितरण गर्यो भने बैतडीमा विद्रोह हुने पक्का छ ।
गठबन्धनमा टिकट कै बिषयलाई लिएर तछाड मछाड भइरहेको हो ?
गठबन्धन के का लागि भन्ने कुरा महत्वपूर्ण छ, गठबन्धन कांग्रेस लगायत गठबन्धन दलहरू कमजोर हुनका लागि हो कि एमालेलाई देश भरीबाट पत्तासाफ गर्नका लागि हो या प्रदेश र संसदीय चुनावमा जित्नका लागि ? वा माओबादीलाई चुनावपछि एमालेसंग गठबन्धनको सरकार बनाउन बार्गेनिङ गर्ने अंकगणितका लागी हो ?
अहिले माओवादी र अन्यदलहरूबीच चुनावपछि आलोंपालो गरेर सरकारको नेतृत्व गर्ने कुराले महत्व राख्छ कि सीट संख्या बढी लिएर धेरै ठाउँमा हारेर एमाले जिताएर एमालेलाई ठूलो दल बनाउने कुरा महत्व राख्छ, यो कुरा नेतृत्वले बुझ्न जरूरी छ । दलहरूबीच सीट बाँडफाँडमा बढ़ी ठाउँमा चुनाव लड्ने कुराले बहादुरी देखिदैन बरू बढी सीट जित्ने कुरा नै अहिलेको राजनैतिक परिस्थितिको बहादुरी हो । त्यही भएर सीटको कुरा छोडेर जीतको आधारमा जित्ने तथ्यहरूको गहन अध्यन गरी गठबन्धनलाई अगाड़ी बढ़ाउन नेतृत्वलाई अनुरोध गर्दछु । अन्यथा गठबन्धनको ओैचित्य बैतडीका लागि "कागलाई बेल पाक्यो हर्ष न विस्मात" को परिस्थिति सृजना हुन जान्छ ।
तपाईको असन्तुष्टि आफुले टिकट पाउदैन कि भनेर हो ?
मेरो कुरा टिकटको मात्र होइन पार्टी बाच्नु पर्छ भन्ने हो । पार्टीमै जिवन समर्पण गरेका नेताकार्यकर्ता प्रति अन्याय नहोस भन्ने चाहना हो । जनभावना अनुरूप मेरो उम्मेद्वारी बैतडी प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका लागी हो । न्यायपूर्ण निर्णय भएन भने आम नागरिक, मतदाता र स्वतन्त्र युवाहरूको सल्लाह अनुरूप बाध्यात्मक विद्रोहको निर्णय गर्न विवस छु ।
त्यसो भए तपाई नेपाली काङ्ग्रेसबाट टिकट पाएन भने स्वतन्त्र लडने हिम्मत राख्नुहुन्छ या टिकट वितरणको बेला बार्गेनिङ मात्र हो ?
चुनाव जुनसुकै हालतमा लड्ने निश्चित हो । मेरो उम्मेदवारी सशक्त हो । २०६४ सालदेखि समाजसेवा र सामाजिक कार्यहरूसंगै सक्रिय राजनीति गर्दै आएको छु । नेपाली कांग्रेस बैतडीको क्षेत्रीय सभापति भएर काम गरे । अहिले सुदूरपश्चिम प्रदेश कार्यसमितिको सदस्य र महाधिवेशन प्रतिनिधको रूपमा काम गरी राखेको छु ।
बैतडीमा कलासांस्कृतिक खेलकुद जस्ता कार्यक्रमहरू आफ्नो तवरबाट १० वर्ष सम्म संचालन गरे । आम नागरिक दाजुभाइ दीदीबहिनीहरु सबैले नेतृत्वको आशा बोकेको छ म बाट त्यही भएर यसपाली मैले उम्मेदवारी दिने निर्णय गरेको छु । यो आसा निराशामा परिणत हुन दिने पक्षमा छैन ।




