Sagun Khabar
बैतडीको पाटन नगर क्षेत्रभित्रका बजारमा अनुगमन, म्याद नाघेका सामग्री नष्ट 

बैतडी –बैतडीको पाटन नगरपालिकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिएको छ । नगर उपप्रमुख कमलसिंह बोहराको संयोजकत्वमा रहेको अनुगमन समितिले गएको दुई महिनामा दुई पटक बजार अनुगमन गरेको छ । 

कम्तीमा महिनाको एक पटक बजार अनुगमन गरेर उपभोक्ता हित संरक्षणका लागि स्थानीय सरकारले पहल गरिरहेको उपप्रमुख बोहराले बताए । पछिल्लो पटक असोज पहिलो साता नगर क्षेत्रभित्रका विभिन्न बजारमा अनुगमन गरिएको बोहराले बताए । 

चाडपर्वका समयमा म्याद नाघेका सामग्री विक्रि हुन सक्ने, कालोबजारी हुन सक्ने कुरालाई मध्यनजर राखेर बजार अनुगमन गरिएको उपप्रमुख बोहराले बताए । उनले भने, ‘हामीले गौरा पर्वमा बजार अनुगमन तथा पसल नवीकरण र दर्ता अभियान चलाएका थियौ । अहिले छुटेका पसल अनुगमन गरिरहेका छौं ।’

बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामग्री बरामद गरेर नष्ट गरिएको बताइएको छ । स्थानीय तहभित्रका बजार अनुगमन गर्ने अधिकार अहिले स्थानीय तहहरुलाई छ । बजार अनुगमन गरेमा उपभोक्ता र व्यापारी दुवै आफ्ना अधिकार र कर्तव्यका बिषयमा जानकार हुने भएकाले स्थानीय तहहरुले यस्तो कार्यलाई निरन्तरता दिन आवश्यक रहेको जानकारहरुले बताएका छन् । 

 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update