बैतडी –नवरात्र शुरु भएसंगै बैतडीको दशरथचन्द नगरपालिका १ स्थित महारुद्र मन्दिरमा दर्शनार्थीको घुइचो बढेको छ । हरेक बर्षको दशैंको समयमा सो मन्दिरमा पूजाआजा हुने भएकाले टाढा–टाढाबाट भक्तजनहरु आउने गरेका छन् । महारुद्रको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले महारुद्र धाम धेरैको आस्थाको केन्द्रको बनेको मन्दिरका पूजारी सिद्धराज भट्टले बताए । उनले भने ‘महारुद्र मन्दिरमा दशैंको समयमा धेरै ठाउँका दर्शनार्थीहरु दर्शनका लागि आउने गरेका छन् । महारुद्रको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।’
महारुद्र मन्दिरमा प्रत्येक बर्ष बिसुको दिन पनि जात्रा लाग्ने गर्दछ । यस्तै बौद्ध पूर्णिमाको दिन र माघे सक्रान्तिमा पनि मन्दिरमा पूजाआजा हुने गरेको मन्दिरका भण्डारे मदनबहादुर टेरले बताए । असोजको नवरात्र र चैते नवरात्रमा पनि यो मन्दिरमा पूजाआजा हुने गरेको स्थानीयहरुले बताएका छन् ।
यो मन्दिर परापूर्व कालमै निर्माण भएको किम्बदन्ती रही आएको छ । राजा नागी मल्ल भन्दा अगाडि महारुद्र देवताको मन्दिर बनेको इतिहास रहेको मन्दिरका भण्डारे टेरले बताए । नागी मल्लले कलात्मक शैलीमा मन्दिरको निर्माण गरेको इतिहास रहेको छ । अहिले पनि सो मन्दिर रहीरहेको छ । ढुंगाबाट मात्रै बनेको कलात्मक शैलीको मन्दिर अहिले पनि देख्न पाइन्छ । टेरले भने ‘महारुद्रको महिमाका बारेमा सबै कुरा कसैलाई पनि थाहा छैन् । तर यो ठाउँमा परापूर्वकालदेखि नै पूजाआजा हुने गरेको छ ।’
भगवान शिवको बासस्थानको रुपमा महारुद्र मन्दिरलाई लिन सकिने टेरले बताए । दशैंको बेला यो मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने, रातभर जाग्राम बस्ने चलन समेत रही आएको छ । दशरथचन्द नगरपालिका वडा नं १ को जरकट्टे, काण्डे, मुडाप, पाली लगायतका ठाउँबाट स्थानीयहरुले जौं लगायतका पूजा सामग्री ल्याउने र त्यसपछि घटस्थापनाका दिन सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको पूजारी भट्टले बताए ।
महारुद्र मन्दिर नजिकै शम्शान समेत रहेको छ । नदी किनारमा अवस्थित मन्दिरको चारैतिर जंगलले घेरेको छ । महारुद्र मन्दिरको आसपासमा अन्य देवीदेवताहरुका मन्दिर रहेका छन् । महारुद्र देवताको सहायक देवताका रुपमा अन्य मन्दिरहरु रहेको मन्दिरका भण्डारे मदनबहादुर टेरले बताए ।
महारुद्र नजिकै चामुण्डा मन्दिर रहेकाले यो ठाउँमा शिव र शक्ति दुवैको पूजाआजा हुने गरेको बताइएको छ । नवरात्रको दशैं सम्म हरेक दिन मन्दिरमा नित्य पूजा हुने गरेको पूजारी भट्टले बताए ।




