बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकालाई स्थानीय बासिन्दाहरुले जमीन दान गरेका छन् । गाउँपालिकाको केन्द्र रहेको वडा नं. ७ का स्थानीयहरुले ३५ रोपनी जमीन दान गरेका गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
उनीहरुले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शैय्याको अस्पताल भवन निर्माणका लागि १० रोपनी र प्रहरी चौकी भवन निर्माणका लागि ५ रोपनी जग्गादान गरेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
स्थानीय हर्कबहादुर धामी,खडक धामी, बिरे धामी, गगन धामी, प्रेम धामी, रतन धामी, ललुवा धामी, मानसिंह धामी, रामसिंह धामी, डम्मर धामी, मानबहादुर धामी, कालुसिंह धामी लगायत १८ जनाले जमीन दान गरेका प्रवक्ता भट्टले बताए ।
जमीन दान गर्नेलाई सोमबार गाउँपालिकाका तर्फबाट सम्मान समेत गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा लगायतको उपस्थितीमा भएको कार्यक्रममा जग्गादाताहरुलाई सम्मान गरिएको हो ।
दशैंको बिदापछि स्थानीयहरुले गाउँपालिकाको नाममा जमीन नामसारी गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।




