बैतडी –बैतडीको पुर्चौडी नगरपालिकाका विद्यार्थीले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउने भएका छन् । कक्षा ११ र १२ का लागि लाग्ने शुल्क नगरपालिकाले तिरिदिन थालेपछि विद्यार्थीले निःशुल्क पढ्ने अवसर पाएका हुन् । चुनावी घोषणापत्रमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने घोषणाअनुसार विद्यार्थीको शुल्क नगरपालिकाबाट बेहोर्न थालिएको नगर प्रमुख दीपकबहादुर बमले बताए । उनले भने ‘मैले पदभार ग्रहण गरेकै दिन कक्षा ११ र १२ को शिक्षा निशुल्क गर्ने घोषणा गरेको थिए । सोही अनुसार बजेट विनियोजन भएर कक्षा ११ र १२ मा लाग्ने शुल्क नगरपालिकाले तिरिरहेको छ ।’
आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई माथिल्लो कक्षामा टिकाउन चुनौती बढ्दै गएपछि नगरपालिकाले विद्यार्थीको शुल्क तिर्न थालेको हो । नगरप्रमुख बमले भने ‘गरिबीका कारण धेरै विद्यार्थीहरुले पढ्न पाएका छैनन् । गाउँका विद्यार्थीहरु विद्यालय नछोडुन भनेर हामीले शुल्क तिरिदिन थालेका हौं ।’
माथिल्लो कक्षाको शुल्क तिर्न नसकेर कतिपय विद्यार्थीहरुले बीचमै पढाई छोड्ने गरेका छन् । बीचमै कक्षा छाड्ने विद्यार्थीको संख्या घटाउन र सबैको शिक्षामा पहुँच पुर्याउन नगरपालिकाले शिक्षामा लगानी गर्न थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर नेपालीले बताए ।
नगरपालिकाभित्रका आठवटा विद्यालयमा कक्षा ११–१२ का विद्यार्थीको मासिक शुल्क नगरपालिकाले विद्यालयको खातामा पठाउन थालेपछि विद्यार्थीहरूले सहज रूपमा पढ्न पाएका छन् ।
नगरपालिकाले गुणस्तरीय शिक्षा गाउँमै सहज रूपमा सबैले लिन सकून् भन्ने ध्येयले शिक्षक व्यवस्थापन, भौतिक व्यवस्थापन र अन्य व्यवस्थापनका क्रियाकलाप सञ्चालन गरेको नगर प्रमुख बमले बताए ।
पाठ्यक्रम, पाठ्यपुस्तक, विद्यालयको भौतिक सुविधा, पठनपाठनको वातावरण एवं मूल्यांकनले गुणस्तरीय शिक्षामा भूमिका खेल्ने भएकाले यसतर्फ नगरपालिकाले ध्यान दिइरहेको नगरप्रमुख बमले जानकारी दिए ।
शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान, आर्थिक वा सामाजिक कारणले शिक्षा लिनबाट वञ्चित भएका, विद्यालयसम्म पहुँच नपुगेकाहरूका लागि पनि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको नगर प्रमुख बमले बताए । शैक्षिक सामग्री, छात्रावृत्तिलगायत प्राविधिक धारका विद्यार्थीहरूको लागि विभिन्न योजना ल्याएको नगरपालिकाले जनाएको छ ।




