बैतडी –बैतडीको पाटनस्थित प्रसिद्ध सिद्धनाथ –उदयदेव मन्दिरमा लाग्ने प्रसिद्ध ‘मैतडकी जात’ नहुने भएको छ । मन्दिरका मुख्य पूजारीका जेठा छोराको निधन भएकाले पूजा गर्न नमिल्ने हुँदा मन्दिरमा जात्रा नहुने सिद्धनाथ–उदयदेव धार्मिक सेवा समितिका सचिव भानदेव भट्टले बताए ।
सिद्धनाथ –उदयदेव मन्दिरमा घटनास्थपनादेखि मुख्य पूजा हुने भएपनि पूजारीको घरमा जुठो परेकाले यो बर्ष मुख्य पूजा रोकिएको सिद्धनाथ –उदयदेव धार्मिक सेवा समितिका अध्यक्ष लालबहादुर चन्दले बताए । यो बर्ष मन्दिरमा जमरा राखिएको छैन् ।
मुख्य पूजारीको विकल्पमा रहेका अर्का पूजारी शिवदत्त जोशी पनि अस्वस्थ रहेका र उनले पूजा गर्न नसकिने बताएपछि ‘मैतडकी जात’ रोकिएको अध्यक्ष चन्दले बताए ।
दशैंको घटस्थापनादेखि पूजा शुरु हुने सो मन्दिरमा महानवमीका दिन राँगाको बलि सहित जात्रा हुने गरेको थियो । यो बर्ष मुख्य पूजा र राँगाको बलि रोकिएको समितिले जनाएको छ । उदयदेव मन्दिरको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् ।
बलि सहितको जात्रा नहुने भएपनि जात्राको अवसरमा डेउडा कार्यक्रम हुने बताइएको छ । पाटन नगरपालिकाको सहयोगमा प्रतिष्ठित धामी समूहले डेउडा कार्यक्रमको आयोजना गरेको पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । असोज १७ र १८ गते डेउडा कार्यक्रम हुने उनले बताए ।




