Sagun Khabar
बैतडीमा फेरिन थाले ‘अपहेलित’ गाउँका नाम 

बैतडी –बैतडीमा अपहेलित गाउँका नाम परिवर्तन हुन थालेका छन् । केही दिन पहिला पाटनमा बसेको अन्तरपालिका समन्वय बैठकले अपहेलित गाउँका नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । जिल्लाको पाटन नगरपालिकाको कार्यपालिकाले अपहेलित गाउँका नाम एक महिनाभित्र परिवर्तन गरिसक्ने निर्णय समेत गरेको छ । 

कार्यपालिकाको निर्णय अनुसार नगर क्षेत्र भित्र रहेका अपहेलित गाउँका नाम परिवर्तन गर्न थालिएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए । कुनै जात र वर्गलाई होच्याउने किसिमले राखिएका नामहरु सच्याउने कार्य शुरु भएको उपप्रमुख बोहराले बताए । उनले भने ‘गाउँका नामकै कारण कुनै जातजाति र सम्प्रदायका मानिसहरुलाई समस्या नहोस भनेर हामीले अपहेलित गाउँका नाम सच्याउन थालेका हौं । समाजमा हुने विभेदलाई काम गर्नका लागि हामीले प्रयास थालेका छौं ।’

बैतडीको वडा नं ५ वसन्तपुरभित्र रहेको ‘डुम्यौडा’टोलको नाम परिवर्तन गरिएको छ । दलित जातिलाई इंगित गरेर राखिएको सो टोलको नयाँ नाम श्रृजना टोल राखिएको छ । वडा अध्यक्ष फुनिसिंह बोहरा र उपप्रमुख कमलसिंह बोहराको उपस्थितीमा भएको भेलाले टोलको नाम श्रृजना टोल राखिएको हो । उनले भने ‘दलित समुदायका मानिसहरुमा नयाँ खालका कामहरुको सिर्जना गर्ने खुबी भएकाले टोलको नाम नै श्रृजना टोल राखेका हौं ।’

गाउँलेहरुको भेलाले टोलको नाम श्रृजना टोल राख्ने निर्णय गरेकाले सोही अनुसार टोलको नाम परिवर्तन गरिएको वडा अध्यक्ष फुनिसिंह बोहराले बताए । गाउँका नामकै कारण समुदायका मानिसको अपमान हुने, जातीय विभेद हुने खालको अवस्था रहेकाले त्यस्तो अवस्थाको अन्त्यका लागि यो अभियान शुरु गरिएको हो । 

पाटन नगरपालिकाका सबै वडामा अपहेलित गाउँका नाम परिवर्तन गरिने उपप्रमुख बोहराले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update