Sagun Khabar
बैतडीको देहीमाण्डौं मदिरा निषेधित क्षेत्र घोषणा 
फाइल फोटो

बैतडी –दशैंको समयमा बैतडीको देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । दशरथचन्द नगरपालिका २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको दिन राँगाको बलिसहित जात्रा हुने भएको र सो जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए । 

मदिरा सेवन र विक्रिका कारण विभिन्न खालका समस्याहरु उत्पन्न हुने भएकाले दशैंको अवधि सम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो । कसैले मदिराको कारोबार र सेवन गरेमा कानुन अनुसार कारवाही हुने समेत जनाइएको छ । 

जिल्लाको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको निङ्गलाशैनी भगवती मन्दिरमा फूलपातीको दिन र महाष्टमीको दिन ठूलो जात्रा लाग्ने गर्दछ । राँगाको बलिसहित मन्दिरमा जात्रा हुने भएकाले चहलपहल बढेको निङ्गलाशैनी भगवती मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । उनले भने ‘महाष्टमी नजिक आएसंगै मन्दिरमा चहलपहल बढेको छ । मन्दिरमा लाग्ने जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि हामीले देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका छौं ।’

निङ्गलाशैनी भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update