Sagun Khabar
बडा दसैँको पाचौं दिन, स्कन्दमाताको पूजा गरिदैं

बैतडी-बडा दसैँको पाचौं दिन आज स्कन्दमाताको पूजा गरिदैंछ। भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ।

शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ ।चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ ।

यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ । दशैंका नवौं दिन सम्म दुर्गा भवानीको ९ ओटा स्वरुप मध्ये पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ भने, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टाको  पुजा गरिन्छ । यस्तै, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

दशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजाआजा भइरहेको छ । जिल्लाका मुख्य देवीका मन्दिरहरुमा दैनिक चण्डी पाठ सहित पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए ।

धेरै जसो मन्दिरमा महाष्टमीको दिन राँगाको बलि सहित पूजाआजा हुने भएकाले त्यसको तयारी समेत हुन थालेको बोहराले बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update