Sagun Khabar
बैतडीः दशैं नजिकिए संगै  झुलाघाट नाकाबाट स्वदेश फर्कने बढे, स्वास्थ्य परीक्षण गरेर पठाइदै

बैतडी- दशैं नजिकिए संगै  भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको छ । गएको एक हप्ता यता सीमा नाकाबाट स्वदेश फर्कनेको संख्यामा वृद्धि भएको  सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।

अहिले सीमा नाकाबाट दैनिक ५० देखि ६० जना सम्म नागरिक स्वदेश फर्किरहेका सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायब निरीक्षक योेगेश बहादुर पालले जनाकारी दिए । रोजगारीका लागि भारतका विभिन्न शहर पसेका नेपाली अहिले दशैं मनाउन  घर फर्किरहेका  उनले बताए ।

घरपरिवार पाल्नका लागि भारतको विभिन्न सहरमा काम गर्ने नेपालीहरु अहिले दशैं मनाउन घर फर्किरहेका छन् । भारतको पिथउरागढ, बरेली, देहरादुन, नयाँ दिल्ली, राजस्थान, हरिद्वार लगायतका विभिन्न सहरमा यहाँ नागरिकहरु कामका लागि जाने गरेका छन् ।

काम विशेषले जहाँसुकै पुगेका भएपनि सारा नेपालीहरू आफूभन्दा सानालाई आशीर्वाद दिन र ठूलाबाट आशीर्वाद लिएर  दशैं  पर्व मनाउन घर फर्किरहेका हुन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक दैनिक रुपमा स्वदेश फर्किरहेका छन् ।

झुलाघाट नाकाबाट दशैंका लागि घर फर्कने सबै नागरिकको सीमामै स्वास्थ्य परीक्षण पनि भइरहेको झुलाघाट हेल्थडेस्कमा कार्यरत  हेल्थ असिस्टेन्ट सुरज धामीले बताए ।

स्वदेश फर्किरहेकाहरुको स्वास्थ्य परीक्षण गरेर  पठाउने  गरिएको उनले  बताए । सीमानाकामा रहेको हेल्थडेस्कमा  स्वदेश फर्किनेहरुको कोरोना संगै डेंगी, मलेरिया र एचआइभी समेत परीक्षण हुने गरेको  बताइएको  छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update