बैतडी – नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनी भगवतीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको भगवतीको पूजा–आराधना गर्ने गरिएको हो ।
पुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भएको शास्त्रहरुमा उल्लेख गरिएको हो ।
यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो । सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा उल्लेख गरिएको छ । कात्यायनी भगवतीले चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।
नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ । यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैँघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ । यो समयमा देवीभागवत महापुराण तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
दशैंका नौ दिन सम्म दुर्गाभवानीका ९ स्वरुपको पूजाअर्चना गर्ने गरिन्छ । पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ भने, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।
दशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजाआजा भइरहेको छ । जिल्लाका मुख्य देवीका मन्दिरहरुमा दैनिक चण्डी पाठ सहित पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए ।
धेरै जसो मन्दिरमा महाष्टमीको दिन राँगाको बलि सहित पूजाआजा हुने भएकाले त्यसको तयारी समेत हुन थालेको बोहराले बताए ।




