बैतडी – नवरात्रको समयमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा चलिरहेको छ । बैतडीमा सात बैनी भगवतीका मन्दिर रहेकाले यहाँ दशैंको समयमा निकै चहलपहल हुने गरेको छ । दशैंको घटस्थापनादेखि नै देवीका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ ।
जिल्लामा रणशैनी, निङ्गलाशैनी, मेलौली, फाल्ङासैनी, डिलाशैनी, कफलाशैनी,कालसैनी लगायतका देवीका मन्दिरहरुमा दशैंको समयमा बलि सहित जात्रा लाग्ने भएकाले निकै चहलपहल बढेको पाइन्छ ।
जिल्लाको डिलाशैनी गाउँपालिकास्थित कफलाशैनी भगवती मन्दिरमा पनि हरेक बर्ष नवरात्रको समयमा पूजाआजा सहित जात्रा हुने गरेको छ । नवदुर्गा भगवतीको साक्षात स्वरुप मानेर कफलाशैनी भगवतीको पूजाआराधना हुने गरेको स्थानीय यज्ञराज भट्टले बताए ।
परापूर्वकालमा खेत जोत्ने क्रममा कफलाशैनी भगवती फेला परेका र त्यसपछि काफलको स्याउलाले ढाँकेको हुनाले कफलाशैनी नाम रहन गएको कफलाशैनी भगवती मन्दिरका मुखिया दुर्गादत्त जोशीले बताए । उनले भने ‘कफलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।परापूर्वकालमा हलो जोत्ने क्रममा भगवती फेला परेका किम्वदन्ती रही आएको छ ।’
कफलाशैनी भगवतीको मन्दिरमा दशैंको समयमा लाग्ने जात्रामा बैतडीका मात्रै नभएर सीमावर्ती जिल्ला दार्चुलाका दर्शनार्थी समेत पुग्ने गरेका छन् । कफलाशैनी भगवती मन्दिरमा घटस्थपानदेखि नै पूजाआजा शुरु हुने गरेको मुखिया जोशीले बताए । भट्ट पूजारी रहेको सो मन्दिरमा महानवमीको दिन राँगाको बलि सहित जात्रा हुने गरेको छ ।
दशैंको समयमा राँगाको बलि गर्नेहरुले पञ्चमीका दिनदेखि राँगा मन्दिरमा लैजाने र महानवमीका दिन बलि गर्ने चलन रही आएको छ ।
कफलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल पक्षको अनन्त चतुर्दशी, असोजको महानवमी, कार्तिक शुक्ल अष्टमी र चैत्राष्टमीको दिन जात्रा हुने गरेको छ । अनन्त चतुर्दशीको जात्रा बाहेक अरु सबै बेला मन्दिरमा बलिसहित पूजाआजा हुने गरेको बताइएको छ ।
कफलाशैनी भगवतीको दर्शनका लागि बसाइसराई गरेर गएकाहरु पनि दशैंको समयमा पुख्र्यौली थलोमा फर्कने गरेका छन् । जात्राको समयमा गाउँघरमा सबैसंग सामूहिक भेटघाट समेत हुने भएकाले कफलाशैनी जात्राले सामाजिक सद्भाव र आपसी बन्धुत्वको भावना जागृत गराएका मुखिया जोशीले बताए ।




