Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भोलिदेखि जात्रा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भोलिदेखि जात्रा शुरु हुँदैछ । घटस्थापनादेखि नित्य पूजा भइरहेको मन्दिरमा महासप्तमीको अवसरमा जात्रा शुरु हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए । 

हरेक बर्षको महाष्टमीमा निङ्गलाशैनी भगवतीमा राँगाको बलि सहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगा पुर्याउने चलन रही आएको छ । महाष्टमीका दिन राँगाको बलि सहित मन्दिरमा जात्रा हुने गरेको छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु समेत आउने गरेका छन् । नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा भोलि र पर्सी लाग्ने मेलाको तयारी पूरा भइसकेको निङ्गलाशैनी भगवती मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको उनले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि  अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ । 

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्नका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेला अवधिभर देहीमाण्डौं बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र विक्रिमा रोक लगाइएको वडा अध्यक्ष बोहराले बताए । 

कसैले नियम विपरीत मदिरा सेवन र विक्रि गरेको पाइएमा कानुनी कारवाही समेत हुने बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update