बैतडी – आज बडादशैँको सातौँ दिन अर्थात् महासप्तमी । नवरात्रका प्रत्येक दिन दुर्गा भवानीका भिन्न स्वरुपको पूजा गर्ने परम्परा अनुसार आज कालरात्रि देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको सातौं दिन कालरात्रि देवीको पूजा आराधना गर्ने परम्परा रही आएको छ ।
भयंकर स्वरुपकी माता कालरात्रि कालो वर्ण भएकी, केश फिँजाएकी र गलामा विद्युत जस्तै चम्किने माला लगाएकी हुन्छिन् । तीन आँखा भएकी कालरात्रिले बारम्बार निःश्वास लिने गर्छिन् । त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ ।
चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छिन् । स्वरूप डरलाग्दो भएपनि कालरात्रिले आफ्ना भक्तलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास छ । कालरात्रिको पूजाआजा गरेमा शत्रुको भय हुँदैन भन्ने मान्यता रहेको छ । यी देवीको बलि सहित पूजाआजा गर्ने चलन रही आएको छ । कालरात्रिले नै महिषासुर लगायतका दानवको संहार गरेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।
यस्तै महासप्तमीका दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ । विद्याका सामग्री, पुस्तक, अभ्यासपुस्तिका र कलमको पनि पूजा गरिन्छ । दशैंको बेला महकाली, महालक्ष्मी र महासरस्वतीको बिशेष पूजाआराधना गर्ने परम्परा रही आएको छ ।
दशैंका नौ दिन सम्म दुर्गाभवानीका ९ स्वरुपको पूजाअर्चना गर्ने गरिन्छ । पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ भने, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।




