बैतडी –बैतडीको सुर्नया गाउँपालिका ६ कोखेत स्थित प्रसिद्ध सिगास धाम बरदानी शिलाको रुपमा परिचित रहेको छ । सिगास गाउँपालिकामा रहेको सिगास धुरालाई सिगासको शिर मानिएको छ भने सुर्नयामा रहेको सिगास पनि सोही धामको अंश रहेको जानकारहरुले बताएका छन् ।
भगवान शिवको शान्त स्वरुपलाई सिगास भन्ने गरिएको जानकारहरुले बताएका छन् । कोखेतस्थित घना जंगलमा अवस्थित सिगास धामलाई बरदानी शिलाको रुपमा लिने गरिएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । सिगास धाममा पूजाअर्चना गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
सिगास धाममा हरेक बर्ष बिसुको दिन जात्रा हुने गर्दछ भने असोजको नवरात्रमा दशैंको राति पूजाआजा सहित जात्रा हुने गर्दछ । यस्तै चैते नवरात्रमा चैत्राष्टमीको दिन सिगासको भण्डार घरमा पूजाआजा हुने गरेको जानकारहरुले बताएका छन् ।
सिगास धामको दर्शन गर्नका लागि चोखोभोको रहेर दर्शन गर्नुपर्ने परम्परा रही आएको छ । सिगास धामको आसपासमा गुफा समेत रहेको र सो गुफालाई पनि सिगासकै गुफाको रुपमा मान्ने गरिएको छ ।
सिगास देवताको प्रवक्ताको रुपमा कैलपाल देवता रहेको र सिगासका वाणी कैलपाल देवताले बोल्ने जनविश्वास रही आएको बताइन्छ । परापूर्व कालमा फुट्लिङ्ग शिलाको रुपमा प्राप्त भएको सिगास देवतासंग शक्ति समेत रहेको बताइएको छ । शिवसंगै शक्ति पनि भएकाले दशैंको समयमा सो मन्दिरमा पूजाआजा हुने गरेको बताइएको छ ।
मनोकामना पूर्ण गर्ने देवताको रुपमा सिगास देवता रहेकाले स्थानीयहरुले श्रावणको महिना समेत पूजाआजा गर्ने गरेका छन् । सिगास देवताको आसपासमा भेलेलिङ्ग, कैलपाल, भूमीराज लगायतका देवताहरुको बासस्थान रहेको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् ।




