बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले विद्युतीकरण नभएका ठाउँमा विद्युत विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । उज्यालो डिलाशैनी अभियान अन्तर्गत विद्युतीकरण नभएका ठाउँमा विद्युत विस्तार कार्य भइरहेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ मा अहिले विद्युत विस्तारको काम भइरहेको उनले बताए । गाउँपालिकाको वडा नं ७ स्थित कर्णकेदार मन्दिरमा विद्युत जडान गरिएको छ । दशैंको पूजाको बेला मन्दिरमा विद्युत जडान भएपछि स्थानीयबासीहरु खुसी भएका छन् ।
केही दिनभित्रै पालिकाको केन्द्रमा विद्युत विस्तार हुने गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको सहयोगमा विद्युत विस्तार भइरहेको अध्यक्ष जोशीले बताए । उनले भने ‘हामीले चुनावका बेला अध्याँरा बस्ती विद्युत विस्तार गर्छौं भनेका थियौं । सोही वाचा अनुसार विद्युत विस्तारको काम भइरहेको छ ।’
गाउँपालिकाको वडा नं ४ मा मात्रै अब विद्युत विस्तारको काम बाँकी रहेको प्रवक्ता भट्टले बताए । वडा नं ७ मा विद्युत विस्तार भएपछि वडा नं. ४ मा विद्युत विस्तार गर्ने योजना रहेको उनले बताए ।
गाउँपालिकाको वडा नं १ र २ मा लघुजल विद्युत आयोजनाको विद्युत रहेको छ भने अन्य वडाहरुमा विद्युतको राष्ट्रिय प्रशारण लाइन जोडिएको छ । विद्युत विस्तार नभएका वडालाई प्राथमिकतामा राखेर विद्युत विस्तार भइरहेको पालिकाले जनाएको छ ।
डिलाशैनीका अध्याँरा बस्तीमा विद्युत विस्तार हुन थालेपछि स्थानीयबासी पनि खुसी भएका छन् । लामो समयको पर्खाइपछि गाउँमा विद्युत सेवा विस्तार भएकाले खुसी लागेको स्थानीय तेजराज जोशीले बताए । गाउँपालिकाले गरिरहेको कामको प्रशांसा गर्दै उनले स्थानीयहरुको आवश्यकताका आधारमा विकास निर्माणका काम भइरहेकोमा खुसी व्यक्त गरे ।
दशैंको समयमा कर्ण केदार मन्दिरमा विद्युत विस्तार भएपछि मन्दिरमा दर्शनका लागि पुगेकाहरुले जनप्रतिनिधिहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।




