बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ । घटस्थापनादेखि नित्य पूजा भइरहेको मन्दिरमा महासप्तमीको अवसरमा जात्रा शुरु भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए ।
हरेक बर्षको महाष्टमीमा निङ्गलाशैनी भगवतीमा राँगाको बलि सहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगा पुर्याउने चलन रही आएको छ । महाष्टमीका दिन राँगाको बलि सहित मन्दिरमा जात्रा हुने गरेको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु समेत आएका बोहराले बताए । नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।
निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा लागेको निङ्गलाशैनी भगवती मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको उनले बताए । महासप्तमीको दिन आज भगवतीको बिशेष पूजाआजा हुने उनले बताए ।
निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ ।
यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्नका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेला अवधिभर देहीमाण्डौं बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र विक्रिमा रोक लगाइएको वडा अध्यक्ष बोहराले बताए । कसैले नियम विपरीत मदिरा सेवन र विक्रि गरेको पाइएमा कानुनी कारवाही समेत हुने बताइएको छ ।




