Sagun Khabar
बैतडीमा सुरक्षा निकायले भित्र्याए फूलपाती 

बैतडी – बैतडीका विभिन्न सुरक्षा निकायहरुले फूलपाती भित्र्याएका छन् । शाहीलेकमा रहेको भैरव मन्दिरमा निसानहरु लगेर पूजाआजा गरी दशैं घरमा फूलपाती भित्र्याइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी,र नेपाल प्रहरीले फूलपाती भित्र्याइएको नेपाली सेनाको हनुमानध्यवज गुल्मका गुल्मपति सेनानी गोविन्द थापाले बताए । 

फूलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसँगै सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहेको थियो । फूलपाती भित्र्याउने साइत अनुसार नै फूलपाती भित्र्याइएको सेनानी थापाले बताए । 

आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याउने चलन रही आएको छ । देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ । 

आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको निङ्गलाशैनी भगवतीका पूजारी देवदत्त भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update