Sagun Khabar
बरदायिनी डिलाशैनी 

बैतडी –दशैंको नवरात्रको अवसरमा बैतडीका विभिन्न शक्तिपीठहरुमा बलि सहित जात्रा शुरु भएको छ । बैतडीमा रहेका सात बैनी भगवती मध्ये पुर्चौंडी नगरपालिका वडा नं ८ मल्लादेहीमा अवस्थित डिलाशैनी भगवती मन्दिर स्थानीयहरुको आस्था र विश्वासको केन्द्रको रुपमा रहेको छ । 

खेतको डिलबाट उत्पन्न भएकाले यी माताको नाम डिलाशैनी रहन गएको डिलाशैनी भगवती मन्दिरका पूजारी हरिशचन्द्र भट्टले बताए । हरेक नवरात्रमा घटस्थापनाको दिन जमरा राखेर यो मन्दिरमा नित्य पूजाआजा हुने गरेको छ । 

असोज शुक्ल चतुर्थीमा भण्डार घरबाट मन्दिरमा भण्डार लगेर दशैंको दिन सम्म नित्य पूजाआजा हुने गरेको पूजारी भट्टले बताए । सो मन्दिरमा विजयादशमीको दिन राँगाको बलिसहित पूजाआजा हुने गरेको छ । महाष्टमीका दिन मन्दिरमा राँगा बाध्ने र विजयादशमीका दिन बलि दिने प्रचलन रही आएको छ । 

डिलाशैनी मातालाई स्थानीयहरुले धार्मिक आस्थाको धरोहरको रुपमा लिने गरेको स्थानीय महेश बोहराले बताए । उनले भने ‘हरेक बर्ष लाग्ने जात्रामा भक्तजनको घुइचो लाग्ने गरेको छ । मनोकामना पूर्ण हुने जनविश्वास सहित स्थानीयहरुले डिलाशैनी भगवतीको पूजाआजा गर्ने गरेका छन् ।’

घटस्थापनाको दिनदेखि पूजा शुरु भएको डिलाशैनीमा महासप्तमीका अवसरमा फूलापाती भित्र्याउने चलन रही आएको छ । यस्तै महाष्टमी, महानवमी र विजयादशमीका दिन बिशेष पूजा लाग्ने गरेको पूजारी भट्टले बताए । उनले भने ‘डिलाशैनी भगवतीको दर्शनका लागि टाढा–टाढाबाट भक्तजनहरु आउने गरेका छन् । बसाइसराई गरेर गएकाहरु पनि जात्राको समयमा पुख्र्यौली थलोमा फर्कने गरेका छन् ।’

सुख,शान्ति, यश, किर्ती, धन र सन्तान सुख प्रदान गर्ने माताको रुपमा डिलाशैनी भगवतीको पूजाआजा गर्ने प्रचलन रही आएको छ । शरदीय नवरात्रको साथै चैते नवरात्रमा पनि सो मन्दिरमा बलि सहित पूजाआजा हुने गरेको छ । यस्तै अनन्त चर्तुदशीमा पनि यो मन्दिरमा पूजाआजा हुने गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update