बैतडी – बडादशैँको आठौ दिन अर्थात् महाष्टमी पर्व । आज दुर्गा भगवतीकी आठौँ स्वरूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ । महागौरीलाई शिवकी शक्ति रुपमा मान्ने गरिन्छ । महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी माताको रुपमा मान्ने गरिएको छ ।महागौरीलाई शाम्भवी पनि भनिन्छ ।
साँढेमा बसेकी माता महागौरीले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन् । माता महागौरीले एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।
आज कालरात्रि
देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ । मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ । आफ्ना परम्परामा ग्राह्य मानिएका पशुहरूको बलिसहित भगवतीको विशेष पूजा आराधना गरिन्छ ।
महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ । तान्त्रिक विधानअनुसार शस्त्रअस्त्रको पूजा गर्ने चलन पनि छ । नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती (चण्डी) पूरै पाठ गर्छन् ।
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज पशु बलि सहित जात्रा हुँदैछ । महासप्तमीका दिनदेखि शुरु भएको जात्रा पशुबलि पछि आज सकिन्छ । निङ्गलाशैनी भगवतीमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ । भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।
यस्तै बैतडीको दशरथचन्द नगरपालिका १ कलौनस्थित निङ्गलाशैनी भगवती मन्दिरमा पनि बलि सहित पूजाआजा हुने गर्दछ । जिल्लाको पुर्चौंडी नगरपालिका तल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा पनि पशुबलि सहित जात्रा हुने गर्दछ ।




