Sagun Khabar
आज महानवमी पर्व, सिद्धिदात्रीको पूजा आराधना गरिँदै

बैतडी- मंगलबार महानवमी पर्व मनाइँदैछ । महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिदै छ । यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्।चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ । यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास छ ।

अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ । नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ । पशुबलि नदिने वा शाकाहारीले भने  कुभिण्डो, घिरौँला र नरिवल चढाउँछन्। लौकिक रूपमा यो दिन बाहन अर्थात् आफू चढ्ने सवारीसाधनको पनि पूजा गर्ने चलन छ । शक्तिपीठको दर्शन गर्ने क्रम नवमीका दिन पनि रहन्छ ।

यो दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ । देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ ।  महानवमि पर्वमा पनि  बैतडीका विभिन्न शक्ति पिठहरुमा पूजाआजा भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update