बैतडी- दशैं तिहारलाई लक्षित गरेर बैतडीमा स्थापना गरिएका यात्रु सहायता कक्षबाट दशैँको अवधीमा ३ हजार बढीले सेवा लिएका छन् । यहि असोज पहिलो साताबाट सञ्चालनमा आएका यात्रु साहयाता कक्षबाट असोज १९ गते सम्म ३ हजार १ सय १९ जना नागरिकले सेवा लिएका हुन् ।
दशैंको बेला यात्रुहरुलाई गन्त्व्यमा पुर्याउनका लागि सहज होस भनेर जिल्लाका सात ठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्षबाट यात्रुहरुलाई सेवा दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका बरिष्ठ प्रहरी नायब निरीक्षक सुरत बहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम गोठलापानीमा स्थापना गरेको यात्रु यहायता कक्षबाट ७ सय ७५ जना, झुलाघाटबाट १२ सय ८७ सतबाँझबाट १८० जनाले सेवा लिएका छन् । यस्तै पाटनमा रहेको यात्रु सहायता कक्षबाट १ सय १५ , खोचलेकमा १ सय ६०, गोकुलेश्वरमा४ सय २ र खोड्पेमा रहेको यात्रु सहायता कक्षबाट २ सय जनाले सेवा लिएका छन् ।
क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तोकिएको भाडाभन्दा बढी भाडा लिन नदिन र यात्रुहरुलाई सहजताका साथ गन्त्व्यमा पुर्याउन यात्रु सहायता कक्ष मार्फत काम भइहरेको बताइएको छ । यात्रु सहायता कक्षबाट ट्राफिक प्रहरीका साथै नेपाल प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिहरुले सेवा दिइरहेका छन् ।
यात्रु सहायता कक्षबाट छठ पर्व सम्म सेवा दिइने जिल्ला प्रहरी कार्यालयका बैतडीले जनाएको छ । यात्राका क्रममा कुनै समस्या परेमा नजिकका सहायता कक्षमा सम्पर्क राख्न आग्रह गरिएको छ ।




