बैतडी- बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने दुई सय बढी सवारीसाधन कारबाहीमा परेका छन् । असोज १ देखि २० गते सम्म ट्राफिक नियम उल्लंघन गर्ने२ सय १३ सवारीसाधन कारबाहीमा परेका हुन् ।
दशैँको बेला बष, टिप्पर, जीप, मोटरसाइकल र ट्याक्टर गरि २ सय १३ सवारीसाधन माथि कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राम सिंह भण्डारीले जानकारी दिए । सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गरिएको उनले बताए। सवारीसाधन चेकजाँच गर्दा नियमविपरीत भेटिएकाहरु कारबाहीमा पर्ने गरेका उनले बताए ।
यस्तै कारबाहीमा परेका सवारीसाधनबाट ट्राफिक प्रहरीले एक लाख ५ हजार राजस्व पनि संकलन गरेको छ । चाँडपर्वका बेला जिल्ला भित्र सवारीसाधन चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई ठाउँको ठाउँ कारबाही गर्ने गरिएको ट्राफिक प्रहरी प्रमुख भण्डारीले बताए । ग्रामीण सडकमा जीप व्यवसायीहरुले ट्राफिक प्रहरीलाई छलेर छतमा यात्रु बोकेका खबर बाहिर आएपछि अहिले जिल्ला भित्रका कच्ची सडकहरुमा पनि निगारानी बढाएका उनले बताए ।




