बैतडी - बैतडी लगायत सुदूरपहाडमा विद्युत सेवा अवरुद्ध भएको छ । आइतबार बेलुका देखि विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन् । विद्युत सेवा बन्द भएपछि निकै समस्या भएको यहाँका सेवाग्राहीले बताएका छन्।
विद्युत सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न पनि समस्या भएको स्थानीय प्रविन धामीले बताए । यस्तै विद्युत आपूर्ती बन्द भएपछि विद्युतीय उपकरण चलाउन नसकिएको अर्का स्थानीय चक्रदेव भट्टले बताए ।
यस्तै विद्युत नहुँदा यहाँका केही रेडियो, एफएमको प्रसारणसमेत रोकिएको हो । यता विद्युत प्राधिकरण वितरण केन्द्र बैतडी प्रमुख पवन भट्टले भने कैलालीको गोदवरीमा रहेको विद्युतको टावर ढलेपछि विद्युत सेवा अवरुद्ध भएको बताए ।
बैतडी मात्रै नभएर लगातारको वर्षाले टावर ढलेका कारण सूरदपहाडमा विद्युत आपूर्ति बन्द भएको उनले बताए । काम भइरहेकाले आज बेलुकी सम्म विद्युत सेवा सञ्चालन हुन सक्ने उनको भनाई छ ।
बिजुली नहुँदा सात पहाडी जिल्लाका नागरिकहरु समसयमा छन् ।विद्युत आपूर्ति गर्न वैकल्पिक व्यवस्था गर्ने काम भइरहेको बताइएको छ ।




