बैतडी –बैतडीमा सत्ता गठबन्धनका उम्मेदवार विरुद्ध कांग्रेसकै नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली कांग्रेसले बागी उम्मेदवारहरुलाई फकाउन थालेको छ । आफ्ना आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गरेपछि कांग्रेसले उम्मेदवारहरुलाई फकाउन थालेको हो ।
बैतडीमा संघीय संसदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) उम्मेदवार बनेका छन् भने प्रदेश सभा क्षेत्र नं (क)बाट नेपाली कांग्रेसका बैतडी उपसभापति बीरबहादुर बिष्ट र प्रदेश सभा क्षेत्र नं. (ख)बाट नेपाली कांग्रेस पूर्व सभापति शिवराज भट्ट उम्मेदवार बनेका छन् ।
संघीय संसदकै लागि नेपाली कांग्रेसका महासमिति सदस्य केशवबहादुर चन्दले गठबन्धनका उम्मेदवार कुँवर विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा क्षेत्र नं (क) का लागि कांग्रेसका महासमिति सदस्य हरिमोहन भण्डारीले बिष्टका विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीकै नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएपछि उनीहरुलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । उनले भने ‘हामीले पार्टीका साथीहरुसंग पार्टीको निर्णय मान्न आग्रह गरेका छौं । स्वतन्त्र उम्मेदवारी फिर्ता गर्नोस भनेर हामीले भनिसकेका छौं ।’
पार्टीको आधिकारिक निर्णय मानेर स्वतन्त्र उम्मेदवारी फिर्ता हुने विश्वास लिएको सचिव चन्दले बताए । उनले भने ‘पार्टीमा लामो समय सम्म काम गरेका साथीहरुले उम्मेदवारी दिनुभएको छ ।उनीहरुले परिस्थती बुझेर उम्मेदवारी फिर्ता गर्ने विश्वास लिएका छौं ।’
गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध गठबन्धन दलकै नेताहरुले उम्मेदवारी दिएपछि अहिले बैतडीमा राजनीतिक तरंगले नयाँ मोड लिएको छ । आफूलाई गठबन्धनमा समावेश नगरेको भन्दै एकीकृत समाजवादीले पनि एकल उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्ट र प्रदेश सभा क्षेत्र नं (क) का लागि केन्द्रिय सदस्य नरेन्द्र बिष्टले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीको आधिकारिक निर्णय र उम्मेदवार विरुद्धको उम्मेदवारी फिर्ता नलिए कारवाहीको डण्डा चलाउने कांग्रेसले तयारी समेत गरेको छ । स्थानीय तहकै निर्वाचनका लागि कांग्रेसको केन्द्रले परिपत्र गरिसकेकाले पार्टीको निर्णय नमान्नेलाई कारवाही हुने सचिव चन्दले बताए ।
यता स्वतन्त्र उम्मेदवारहरुले भने आफूहरुले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । संघीय संसदका लागि उम्मेदवारी दर्ता गरेका कांग्रेस नेता केशवबहादुर चन्दले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । यस्तै प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका अर्का कांग्रेस नेता हरिमोहन भण्डारीले पनि उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरुले भोलि (बुधबार) बिहान १० बजेदेखि १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ । यस्तै दिउँसो १ बजेदेखि ३ बजे सम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको बैतडीका सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले बताए । यस्तै दिउँसो ४ बजेदेखि साँझ सात बजे सम्म उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको उनले बताए ।
बैतडीमा संघीय संसदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभा सदस्यका लागि क्षेत्र नं (क) बाट ६ जना र (ख)बाट ५ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




