Sagun Khabar
बागी उम्मेदवारी फिर्ता लिन बैतडी कांग्रेसको आग्रह 

बैतडी –नेपाली कांग्रेस बैतडीले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । गठबन्धनका उम्मेदवार विरुद्ध कांग्रेसकै नेताहरुले उम्मेदवारी दर्ता गराएपछि कांग्रेसले एक विज्ञप्ती जारी गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । उम्मेदवारी फिर्ता गर्नका लागि एकदिनको समय बाँकी रहेका बेला कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न अपिल गरिएको छ । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेस र गठबन्धन दलका उम्मेदवारहरुलाई सहयोग गर्न आग्रह गर्दै कांग्रेसले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । 

बैतडीमा प्रतिनिधि सभाका लागि गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर)ले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश सभाका लागि गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका बीरबहादुर बिष्ट र शिवराज भट्टको उम्मेदवारी दर्ता भएको छ । 

गठबन्धन दलकै उम्मेदवार विरुद्ध नेपाली कांग्रेसका केशवबहादुर चन्दले संघीय संसदका लागि उम्मेउदवारी दर्ता गराएका छन् भने हरिमोहन भण्डारीले प्रदेश सभा क्षेत्र नं (क)मा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update