बैतडी– लगातारको बर्षाले बैतडीमा धानबालीमा क्षति पुर्याएको छ । भित्र्याउनै लागेको धानबालीमा लगातारको बर्षाले क्षति पुगेको किसानहरुले बताएका छन् । कतिपय किसानहरुले धानबाली काटेर खेतमै राखेका कारण धानबालीमा क्षति पुगेको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए ।
काट्न बाँकी रहेको बाली भन्दा काटेर भित्र्याउन नपाएको बालीमा क्षति पुगेको उनले बताए । लगातारको बर्षाका कारण पाटनमा मात्रै २० प्रतिशत धानबाली नोक्सान भएको अनुमान गरिएको कृषि शाखा प्रमुख अवस्थीले बताए । उनले भने ‘यो बर्षाका कारण कम्तीमा २० प्रतिशत बाली नोक्सान भएको हाम्रो आँकलन छ । किसानहरुले धानबाली नष्ट भएको विवरण ल्याइरहेका छन् ।’
धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको पाटनमा रोगकिरा र बर्षाले धानबालीमा क्षति पुर्याएपछि यो बर्ष धान उत्पादनमा कमी आउने देखिएको छ । रोगकिराका कारण राम्रोसंग फस्टाउन नपाएको धानबालीमा बर्षाले थप क्षति पुर्याएको स्थानीय किसान दिनेश बिष्टले बताए । उनले भने ‘यो बर्ष धान उत्पादनमा निकै कमी आउने देखिएको छ । बर्षाका कारण पनि धानबालीमा ठूलो क्षति पुगेको छ ।’
यस्तै जिल्लाको सिगास गाउँपालिकाको ढुंगाड क्षेत्रमा पनि बर्षाले धानबालीमा क्षति पुर्याएको स्थानीय पदम साउँदले बताए । किसानहरुले धान भित्र्याउन नपाउँदै परेको अविरल बर्षाले धानबालीमा यो बर्ष पनि क्षति पुर्याएको उनले बताए । गत बर्ष समेत परेको बेमौसमी बर्षाले धानबालीमा व्यापक क्षति पुर्याएको थियो । गत बर्ष बालीनालीमा क्षति व्यहोरेका किसानहरुले यो बर्ष पनि थप क्षति व्यहोरेका छन् ।
यस्तै जिल्लाको गोकुलेश्वर क्षेत्र, सुर्नया, पुर्चौंडीको हाट, मेलौलीको सलेना लगायत धान उत्पादन हुने क्षेत्रमा धानबालीमा क्षति पुगेको कृषि प्राविधिकहरुले बताएका छन् ।
बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा धानखेती हुँदै आएको भएपनि धानबालीमा क्षति हुँदा उत्पादनमा कमी आउन थालेको छ । जिल्लामा धान उत्पादन कम हुँदा थप खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको छ । तराईका जिल्लाहरुमा समेत बर्षातले धानबालीमा क्षति गरेका कारण यो बर्ष चामलको भाउ आकाशिने अनुमान गरिएको छ ।




