Sagun Khabar
निर्वाचन खर्च नबुझाएका उम्मेदवारलाई जरीवाना तिर्न परिपत्र 

बैतडी –गएको स्थानीय तहको निर्वाचनमा निर्वाचन खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाई तोकिएको जरीवाना तिर्न जिल्ला निर्वाचन कार्यालयले परिपत्र गरेको छ । निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम आएको ३० दिन भित्र उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने भएपनि त्यो नबुझाएका उम्मेदवारहरुलाई आयोगले जरीवाना तोकेको हो । आयोगले गरेको पत्राचार अनुसार निर्वाचन खर्च नबुझाएका उम्मेदवारहरुलाई ६ महिनाभित्र जरीवाना तिरीसक्न पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । 

प्रत्येक स्थानीय तहहरुलाई पत्राचार गर्दै स्थानीय तहभित्र खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाई जरीवाना तिर्न आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए ।  बैतडीमा ९ सय ७२ जना उम्मेदवारले निर्वाचन खर्च विवरण नबुझाएको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । पञ्चेश्वर गाउँपालिकाका निर्वाचित अध्यक्ष र उपाध्यक्ष सहित उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् ।  

बैतडीमा नगरपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदका ३७ जना उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् भने नगरपालिकाका वडा अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र सदस्य पदका ४४६ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । यस्तै गाउँपालिकाका वडा अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र सदस्य पदका ४८९ जनाले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । 

३० दिनभित्र खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० अनुसार कारवाही गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार जरीवना नतिर्नेले आगामी ६ बर्ष सम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने आयोगले निर्णय गरेको छ भने निर्वाचित प्रतिनिधिहरुले ६ महिनाभित्र जरीवाना नतिरेमा पद नै खारेज हुने व्यवस्था गरिएको छ । 

समयमा निर्वाचन खर्च नबुझाएका नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुले ४ लाख ५० हजार जरीवाना तिर्नुपर्नेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुले ३ लाख ५० हजार जरीवाना तिर्नुपर्नेछ । 

यस्तै निर्वाचन खर्च नुबझाएका नगरपालिकाका वडा अध्यक्षदेखि सदस्य पदका उम्मेदवारहरुले २ लाख जरीवाना तिर्नुपर्नेछ भने गाउँपालिकाका वडा अध्यक्षदेखि सदस्य पदका उम्मेदवारहरुले १ लाख ५० हजार जरीवाना तिर्नुपर्नेछ ।  
 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update