Sagun Khabar
बैतडीमा कांग्रेसका दुई ‘बागी’ उम्मेदवार कारवाहीमा 

बैतडी –नेपाली कांग्रेसले ‘बागी’उम्मेदवारहरुलाई ५ बर्षका लागि कारवाही गरेको छ । पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवार विरुद्ध ‘बागी’ दिएकाहरुलाई कारवाही गरिएको नेपाली कांग्रेसले जनाएको छ । 

पार्टीको निर्णय विरुद्ध ‘बागी’उम्मेदवारी दिएका बैतडीका दुई जना कारवाहीमा परेका नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । गठबन्धन र पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका महासमिति सदस्य केशवबहादुर चन्द र हरिमोहन भण्डारीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो । 

दुवै जना उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारवाही हुने जिल्ला सचिव चन्दले बताए । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसेर प्रस्तावक र समर्थकलाई कारवाही गरिने चन्दले बताए । 

नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि रहेका केशवबहादुर चन्दले गठबन्धनका उम्मेदवार विरुद्ध प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । बैतडीमा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भएपनि उनका विरुद्ध चन्दले उम्मेदवारी दिएका छन् । 

यस्तै प्रदेश सभा क्षेत्र (क) मा प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसले पार्टी उपसभापति बीरबहादुर बिष्टलाई उम्मेदवार बनाएपनि उनका विरुद्ध हरिमोहन भण्डारीले उम्मेदवारी दिएका छन् ।

पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उठेपछि कारवाही गरिएको बैतडी कांग्रेसले जनाएको छ । दुवै जना पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासनमा परेको सचिव चन्दले बताए । पार्टीका आधिकारिक उम्मेदवारलाई मात्रै सहयोग गर्न पार्टी पंक्तिलाई समेत निर्देशन गरिएको सचिव चन्दले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update