Sagun Khabar
बैतडीमा सत्ता गठबन्धनको बैठक सम्पन्न, के –के भए निर्णय ? 

बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गरेर बैतडीमा सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । गठबन्धन गरेर चुनावी मैदानमा होमिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त बैठक सम्पन्न भएको हो । 

बैठकले सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीका सबै तहलाई सर्कुलर गर्ने निर्णय गरेको छ । यस्तै गठबन्धनका विरुद्धमा लाग्नेलाई आ–आफ्ना पार्टीबाट कारवाही गर्ने र गठबन्धनका उम्मेदवारलाई जिताउन घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

यस्तै असोज ३१ गते क्षेत्र नं (क) को पाटन र क्षेत्र नं. (ख)को देहीमाण्डौंमा गठबन्धनको बैठक बस्ने निर्णय समेत भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

केन्द्रमा सत्ताधारी दलहरुबीच गठबन्धन भए अनुुसार संघीय संसदका लागि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) उम्मेदवार रहेका छन् । 

यस्तै प्रदेश सभा क्षेत्र नं.(क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उपसभापति बीरबहादुर बिष्ट उम्मेदवार रहेका छन् भने क्षेत्र नं (ख) नेपाली कांग्रेसका पूर्वसभापति शिवराज भट्ट उम्मेदवार रहेका छन् । 

गठबन्धनका उम्मेदवार विरुद्ध कांग्रेसकै नेताहरुले बागी उम्मेदवारी दिएपछि गठबन्धन दलहरुलाई समस्या भएको छ । क्षेत्र नं (क) मा नेपाली कांग्रेसका नेता हरिमोहन भण्डारी बागी उठेका छन् भने संघीय संसदका लागि नेपाली कांग्रेसकै नेता केशवबहादुर चन्द बागी उठेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update