बैतडी –बैतडीमा आसन्न निर्वाचनका लागि झण्डै १२ सय म्यादी प्रहरी परिचालन गरिने भएको छ । चुनावी सुरक्षाका लागि नेपाल प्रहरीसंगै जिल्लाभरी १ हजार १९१ जना म्यादी प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
म्यादी प्रहरीका लागि १ हजार ८४९ जनाले आवेदन दिएकोमा १ हजार १९१ जना छनोट भएका प्रहरी प्रवक्ता जोशीले बताए । छनोट भएका म्यादी प्रहरीका लागि असोज ३० गतेदेखि १० दिने तालिम सञ्चालन हुने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा पाटनमा म्यादी प्रहरीका लागि तालिम सञ्चालन हुने प्रहरी प्रवक्ता जोशीले बताए । तालिमपछि उनीहरुलाई नेपाल प्रहरीसंगै चुनावी सुरक्षाका लागि खटाइने बताइएको छ ।
बैतडीमा १२९ मतदानस्थल र २ सय ५ मतदान केन्द्र रहेका छन् । सबै मतदानस्थल र मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




