Sagun Khabar
बैतडीमा खोला तर्दै गरेको फोटो दामोदर भण्डारीका लागि भारी 

बैतडी – बैतडीबाट आसन्न प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका एमाले नेता दामोदर भण्डारीको खोला तर्दैै गरेको एक तस्बिर समाजिक सञ्जालमा भाइरल बनेको छ । चुनावी प्रचारप्रसारमा जिल्लाको विकट पालिका सिगास पुगेका भण्डारीले काठको लाप्कोबाट खोला तरिरहेको तस्बिर यति बेला समाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको हो ।

नेता भण्डारीको तस्बिर मात्रै भाइरल बनेको छैन, उनलाई प्रतिकृया गर्नेहरुले विभिन्न आरोप पनि लगाएका छन । काठको लाप्कोबाट खोला तर्दै गरेको तस्बिर समाजिक सञ्जाल फेसबुकमा पोष्ट्याउने अधिकाँश व्यक्तिहरुले उनलाई कुनै पनि काम नगर्ने नेताको संज्ञा दिएका छन् । 

कसैले व्यंग्यात्मक शैलिबाट भण्डारीलाई अब चौथौ पटक चुनाव लड्नका लागि यो खोलामा पुल बनाउनु पर्याे भनेका छन त कसैले दुई दुई चोटी प्रतिनिधि सभा सदस्यमा जिताउँदा पनि पुल बनाउन नसक्ने  कस्तो नेता भनेर प्रश्न गरेका छन ।

एक जनाले समाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै भनेका छन’ ‘तेस्रो कार्यकालका लागि प्रचार गर्न सिगास पुगेर मोटरेबल पूल तर्दै गरेका उनी अझपनि विकास गर्ने गफ चुटि रहेका छन । ’एक जना सिगासकै युवाले प्रतिकृया जनाउँदै  भनेका छन्  ‘जिल्लाको दुर्गम पालिका हामीले आफ्नो सांसदको मुख देख्न पनि ५ वर्ष कुर्नु पर्छ, जिताएर पठाएपछि फेरि चुनावमा भोट माग्न आउँदा मात्र देख्न पाउँछौ’ ‘यो हाम्रो बिडम्बना हो । ’अनि यस्ता पाहुना सांसदले के विकास गरेको होला हाम्रो सिगासका लागि भनेर उनले  प्रश्न पनि गरेका छन ।

धेरै जनाले जनताका समस्या नबुझनेले के भोट माग्न गाउँघर डुल्नु परेको  होला भनेर लेखेका छन् भने कसैले पुल बनाउन नसक्नेले समाजको विकास समृद्धि गर्न नसक्ने बताएका छन् । नेता भण्डारी शुक्रबार  चुनावी प्रचारप्रसार गर्न सिगास गाउँपालिका पुगेका थिए । सिगास ९ को  दोगाड खोलामा काठको लाप्कोबाट नेता भण्डारी खोला तरिरहेको तस्बिर एमाले निकटका व्यक्तिहरुले खिचेर फेसबुकमा राखे । त्यसपछि सो तस्बिर भाइरल बनेको थियो ।

तस्बिर भाइरल बनेपछि एमाले निकटका व्यक्तीहरुले  भने  फेसबुकबाट फोटो  हटाएका छन तर प्रचारप्रसारमा सहभागिहरुका फेसबुक वालबाट तानेका अन्य जिल्लाका नागरिकरुले भने अहिले सो तस्बिरहरु समाजिक सञ्जाल फेसबुकमा  भाइरल गरिरहेका छन्  ।

नेता भण्डारीले २०७० सालमा संविधान सभाको चुनाव र २०७४ मा प्रतिनिधि सभा सदस्यको चुनाव जितेर जिल्लाको नेतृत्व गरिसकेका छन् । दोस्रो संबिधानसभा निर्वाचनमा विजयी भएर  भण्डारी केपी शर्मा ओली नेतृत्वको ९ महिने सरकारमा अर्थ राज्यमन्त्री पनि भएका थिए ।

नेकपा एमालेका प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्यका लागि पनि टिकट पाएका छन् । अगामि मंसिर ४ मा हुने निर्वाचनका लागि उनि अहिले जनता संग भेटघाट गर्न घरदैलो कार्यक्रममा छन् ।

बैतडी जिल्लाका अधिकाँश  खोलामा अहिले  पनि स्तरिय पुल छैनन् ।  पुल नहुँदा  नागरिकहरु  जोखिम मोलेर बर्खायाममा  ओहोर दोहोर गर्ने गरेका छन् ।  चुनावको मुखमा बैतडीमा खोला तर्दै गरेको फोटो दामोदर भण्डारीका लागि भारी परेको छ । 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update