Sagun Khabar
चुनाव नजिक आयो, मतदाता शिक्षा छैन् 

बैतडी –प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिक आएको भएपनि मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अलमलमा परेका छन् । भोट हाल्ने तरीकाका बारेमा थाहा नभएको धेरै मतदाताले बताएका छन् । चुनाव नजिक आएपनि मतदान गर्ने तरीकाका बारेमा आफूलाई कुनै जानकारी नभएको सुर्नया गाउँपालिका ६ का लक्ष्मीदत्त अवस्थीले बताए । उनले भने ‘निर्वाचन नजिक आयो । तर मतदान गर्ने तरीकाका बारेमा थाहा छैन् । गाउँघरमा महिलाहरुलाई त यो बिषयमा झन् थाहा नै छैन् ।’

मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरीकाका बारेमा थाहा नभएको पाटन नगरपालिका २ का उद्धवराज पन्तले बताए । मतदाता शिक्षाको अभावमा धेरै मत बदर हुन सक्ने उनले आँकलन समेत गरेका छन् । मतदाता शिक्षाको अभावमा मत बदर हुने सम्भावना रहेको उनले बताएका हुन् । 

गएको स्थानीय तहको निर्वाचनमा समेत मतदाता शिक्षा सञ्चालन हुन सकेको थिएन् । आसन्न चुनावका लागि मतदाता शिक्षा सञ्चालनका बिषयमा अहिले सम्म निर्वाचन आयोगले कुनै कार्यक्रम नपठाएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि आयोगले कार्यक्रम पठाएमा मात्रै सञ्चालन हुने फुँयालले बताए । 

मतदाता शिक्षा सञ्चालन गर्न नसके धेरै भोट बदर हुने अनुमान गरिएको छ । गाउँघरमा मतदाता शिक्षाको अभाव रहेकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको सिद्धनाथ मावि सिलंगाका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा ७६ हजार १ सय मत खसेकोमा ७ हजार ५४ मत बदर भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update