बैतडी –बैतडीको पाटन नगरपालिकामा छुट मुक्त हलियाहरुको तथ्यांक संकलन भएपछि उनीहरुका लागि कार्यक्रम सञ्चालन गर्न सहज भएको छ । सरकारले हलिया मुक्तिको घोषणा गरेपछि तथ्यांकमा अटाउन नसकेका छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरिएको नगरपालिकाका निवर्तमान उपप्रमुख सरस्वती कोलीले बताइन् ।
नगरपालिकाभरी एक हजार भन्दा बढी छुट मुक्त हलियाहरु रहेका र उनीहरुलाई तथ्यांकमा समेटिएको उनले बताइन् । छुट मुक्त हलियाहरु तथ्यांकमा अटाएपछि उनीहरुका लागि कार्यक्रम सञ्चालन गर्न नयाँ सरकारलाई पनि सहज हुने कोलीले बताइन् ।
तथ्यांकमा समेटिएका छुट मुक्त हलियाहरुलाई अब परिचय पत्र वितरणको काम गर्नुपर्नेमा कोलीले जोड दिइन् । मुक्त हलिया महासंघ र नगरपालिका मिलेर तथ्यांक संकलन गरेको र अब पालिकाले परिचय पत्र वितरणको काम अघि बढाउनुपर्ने जिल्ला हलिया मुक्ति समाजका अध्यक्ष रमेश कोलीले बताए । परिचय पत्र पाउन बाँकी रहेका छुट मुक्त हलियाहरुलाई परिचय पत्र दिनुपर्नेमा उनले जोड दिए ।
नगरपालिकाको पहिलो सरकारले छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरेको निवर्तमान उपप्रमुख कोलीले बताइन् । आफू पनि मुक्त हलिया परिवारको सदस्य भएको नाताले मुक्त हलियाका सवाललाई गम्भीरतापूर्वक लिएको उनले बताइन् ।
नगरपालिकाले छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरिसकेको र अब परिचय पत्र वितरणको कामलाई अघि बढाउनुपर्ने दलित अधिकारकर्मी खेमराज लुहारले बताए ।
छुट मुक्त हलियाहरुको तथ्यांक संकलन भएपछि आफूहरुलाई खुसी लागेको स्थानीय गीता पहरीले बताइन् ।
बैतडीमा १ हजार ५५९ जना मुक्त हलियाहरुले परिचय पत्र पाएका छन् भने झण्डै ५ हजार मुक्त हलियाहरु अझै तथ्यांकमा नसमेटिएको अनुमान गरिएको छ । तथ्यांकमा नसमेटिएकाहरुलाई जिविकोपार्जनमा समस्या रहेको यो क्षेत्रमा काम गर्नेहरुले बताएका छन् ।




