बैतडी –प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिक आएका बेला अहिले उम्मेदवारहरु भोट माग्ने कार्यमा व्यस्त रहेका छन् । प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
लोकतान्त्रिक –बाम गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले पनि चुनाव जित्ने दाबी गरिरहेका छन् ।
बैतडीमा प्रतिनिधि सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन् । यस्तै एमालेका तर्फबाट एमालेका प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन् भने स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द पनि चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिष्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोँसाई, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह बिष्ट चुनावी मैदानमा छन् ।
उम्मेदवारहरु अहिले चुनाव चिन्ह सहित प्रचारप्रसारमा लागेका छन् । बैतडीमा ११ जना प्रतिस्पर्धी भएपनि मुख्य प्रतिस्पर्धा गठबन्धन र एमालेबीच हुने आँकलन गरिएको छ । एमालेका प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी तेश्रो पटक जित निकालेर ह्याट्रिक गर्ने दाउमा रहेका छन् । यता कांग्रेस र एकीकृत समाजवादीको साथमा पाएका नरेन्द्र कुँवर (विजयसुन्दर) पनि चुनाव जित्ने दाबी गरिरहेका छन् । गठबन्धन दलका भोटको आधारमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने कुँवरको दाबी छ ।
तर गठबन्धन भित्रै बागी उम्मेदवार रहेकाले त्यसको फाइदा उठाउने दाउमा भण्डारी रहेका छन् । सबै दल र उम्मेदवारहरुले अहिले प्रचारप्रसारलाई आक्रामक रुपमा अघि बढाएका छन् । गाउँगाउँमा गएर भोट माग्ने कार्यमा उम्मेदवारहरु व्यस्त रहेका छन् । चुनाव आउन अब ३५ दिन मात्रै बाँकी छ ।




