Sagun Khabar
महाकालीबाट अवैध रुपमा बालुवा ल्याउँदै गरेको ट्याक्टर प्रहरी नियन्त्रणमा 

बैतडी –बैतडीमा महाकाली नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको ट्याक्टर प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । महाकाली नदी किनारबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको ट्याक्टर दशरथचन्द नगरपालिका ८ त्रिपुराबाट नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

से २ त २९३७ नम्बरको ट्याक्टरमा बालुवा ल्याउँदै गरेको अवस्थामा प्रमुख जिल्ला अधिकारी सहितको अनुगमन टोलीले फेला पारेको थियो । सोधपुछ गर्दा महाकालीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ल्याएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चालकलाई समान्य सोधपुछ पछि छोडिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

ट्याक्टर धनीलाई बोलाएर बालुवा उत्खननको बिषयमा सोधपुछ गरेर आवश्यक कारवाही हुने प्रहरीले जनाएको छ । महाकाली नदी किनारबाट अवैध रुपमा बालुवा तथा अन्य नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । 

दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्ड अनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भएपनि महाकालीमा अवैध उत्खन्न बढ्दै गएको बताइन्छ । नदीबाट हुने अवैध उत्खनन रोक्नका लागि ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update