Sagun Khabar
४५ बर्षको राजनीतिक अनुभवले चुनाव जित्छु : कांग्रेस नेता भट्ट 

बैतडी –लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट बैतडी क्षेत्र नं (ख) का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता शिवराज भट्टले चुनाव जित्ने दाबी गरेका छन् । रेडियो निङ्गलाशैनीको कार्यक्रम जनचासोमा बोल्दै उम्मेदवार भट्टले आफूले सक्रिय राजनीतिमा ४५ बर्ष बिताएको बताए । राजनीतिक अनुभवकै आधारमा आफूले मतदाताको माया पाउने उनले दाबी गरे । 

प्रदेश सभा सदस्यका पदका लागि गठबन्धनको साझा उम्मेदवार भएकाले पनि उनले चुनावमा सहजै जित निकाल्ने दाबी गरेका छन् । उनले भने ‘ म अहिले सम्म कुनै पदमा बसेको छैन् । मैले भ्रष्टाचार गरेको छैन् । नागरिकलाई सुशासनको प्रत्याभूती दिन मेरो उम्मेदवारी हो ।’

प्रदेश क्षेत्र नं (ख) बैतडीमा जिल्लाको तल्लोसोराड क्षेत्र पनि भएकाले त्यो क्षेत्रमा आत्मीय सम्बन्ध रहेकोमा भट्टले जोड दिए । शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारको निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको भट्टले बताए । 

पञ्चायती व्यवस्था विरुद्ध लड्दै राजनीति शुरु गरेको बताउने भट्टले आफ्नो राजनीतिक अनुभव नागरिकका लागि समर्पण गर्ने बताए । नेपाली कांग्रेसको सरकार भएको बेला आफूले यो क्षेत्रको विकासका लागि सक्दो पहल गरेको भट्टको दाबी छ । 

यसैबीच गठबन्धनका तर्फबाट प्रदेश सभा क्षेत्र नं. (ख)का उम्मेदवार शिवराज भट्टले गणमेश्वर मन्दिरबाट चुनावी प्रचारप्रसार अभियानको थालनी गरेका छन् । आफ्नो जन्मभूमी बिजुल क्षेत्रबाटै चुनावी प्रचारप्रसार अभियान थालनी गरेको भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update