बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूर सञ्चार प्राधिकरणले अन्तराष्ट्रिय कनेक्टीभिटीका लागि सीमा नाका झुलाघाटमा इन्टरनेट विस्तार गरेको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाले जानकारी दिए ।
सीमा नाका झुलाघाटमा इन्टरनेटको पहुँच पुगेसंगै सरकारी कार्यालयहरुमा समेत सजिलो हुने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । नाकामा रहेका महाकाली भन्सार कार्यालय, सीमा प्रहरी चौकी, सशस्त्र प्रहरी बलको कार्यालयलाई समेत सहज हुने उनले बताए ।
इन्टरनेटको पहुँचबाट टाढा रहेको सीमा नाका झुलाघाटमा इन्टरनेटको पहुँच पुगेसंगै अब सजिलो भएको छ । सीमा नाकामा इन्टरनेट आवश्यक भएकाले सरकारले सीमामा इन्टरनेट सेवा विस्तारमा चासो दिएको हो ।
यसैबीच जिल्लाको पञ्चेश्वर गाउँपालिकाभित्रको सञ्चार समस्या समाधानको लागि धनगढीबाट प्राविधिकको टोली आउने भएको छ । पालिकाभित्रको टेलिकमको टावरमा देखिएको समस्या समाधानका लाटि टोली आउन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




