Sagun Khabar
नेपाली कांग्रेस बैतडीका पुराना नेता भट्टको निधन 

बैतडी –नेपाली कांग्रेस बैतडीका पुराना नेता महेशशरण भट्टको निधन भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोट निवासी भट्टको सोमबार आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । श्वासप्रश्वासका बिरामी रहेका भट्ट केही बर्ष यता सक्रिय राजनीतिबाट टाढा रहेका थिए । 

नेपाली कांग्रेस बैतडीको सचिव समेत रहीसकेका भट्टले विभिन्न संघसंस्थाहरुको नेतृत्व समेत गरेका थिए । उनी नेपाल परिवार नियोजन संघ बैतडीको सभापति समेत भएका थिए । श्रीकेदार मावि पिपलकोटको संस्थापक प्रधानाध्यापकको रुपमा काम गरेका भट्टले समाज परिवर्तनका लागि थुप्रै काम गरेका थिए । 

२०५० सालमा नेपाली कांग्रेसको सभापति दुर्गादत्त जोशी रहेका बेला भट्ट पार्टीको सचिव रहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । नेपाली कांग्रेस बैतडीको संस्थापक नेताका रुपमा रहेका भट्टको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको सचिव जोशीले बताए । भट्टको निधनसंगै बैतडी कांग्रेसले एक कुशल अभिभावक गुमाएको सचिव जोशीले बताए । 

भट्टको निधनमा कांग्रेसका नेता कार्यकर्ताहरुका साथै अन्य व्यक्तिहरुले समेत शोक व्यक्त गरेका छन् ।   
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update