बैतडी –बैतडीमा प्रदेश सभा क्षेत्र नम्बर (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीले आफूले चुनाव जित्ने दाबी गरेका छन् । बैतडीको पाटनमा पार्टी सम्पर्क कार्यालय स्थापना गरी पत्रकार सम्मेलन गरेका भण्डारीले आफूले चुनाव जित्ने दाबी गरेका हुन् ।
नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उठेका भण्डारीले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताएका हुन् । देशभरी नै स्वतन्त्रको लहर चलेकाले आफूले जित्ने दाबी उनको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले खुलेर नभने पनि भोट आफूलाई दिने भण्डारीको भनाइ छ ।
आफूले टिकट पाइसकेको अवस्थामा पार्टीभित्रको गुटका कारण आफ्नो टिकट खोसिएको भण्डारीले बताए । उनले भने ‘मैले टिकट पाइसकेको हो । मेरो टिकट खोसिएको हो । त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’
आफूले पार्टीमा नबसे नेपाली कांग्रेस नचल्ने चेतावनी दिएका भण्डारीले आफू विकास एजेण्डा सहित मतदाता सामू गइरहेको बताए । कांग्रेस भित्र एकअर्कालाई सिध्याउने खेल भइरहेकाले कांग्रेस पार्टी फेल हुँदै गएको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल दलित संघका जिल्ला अध्यक्ष रमेश कोलीले पार्टीले न्याय नगरेका कारण भण्डारीको पक्षमा लागेको बताए । उनले भने ‘कारवाही गर्ने हो भने अहिले सम्म पार्टीका विपक्षमा लागेकाहरुलाई गर्नुपर्यो । कसरी कारवाही गर्छन्, हामी पनि हेर्दै जान्छौं ।’
नेपाली कांग्रेसले बागी उम्मेदवारहरुलाई असोज ३१ गते अर्थात आजदेखि निष्क्रिय बसे कारवाही नगर्ने बताएका बेला भण्डारीले आफ्नो चुनावी प्रचार प्रसार अभियानको थालनी गरेका छन् । आफू चुनावमा होमिसकेकाले आफू कुनै हालतमा पछाडि नफर्कने उनले बताए ।
नेपाली कांग्रेसभित्रै बागी उम्मेदवार उठेपछि अहिले गठबन्धनका उम्मेदवारहरुलाई भोट बचाउन हम्मे परेको छ । यस्तै संघीय सांसदका लागि पनि कांग्रेस नेता केशवबहादुर चन्दले उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारहरु नै गठबन्धनका लागि अहिले टाउको दुखाइको बिषय बनेको छ ।




