Sagun Khabar
‘बागी’ उम्मेदवारलाई निष्क्रिय बस्न कांग्रेसले कार्तिक ४ सम्म दियो, बैतडीका ‘बागी’ले के गर्लान ? 

बैतडी –नेपाली कांग्रेसले देशभरका ‘बागी’उम्मेदवारलाई निष्क्रिय बस्न कार्तिक ४ सम्मको समय दिएको छ । कार्तिक ४ गतेभित्र आफू निष्क्रिय बस्ने घोषणा गरेमा कारवाही फुकुवा गर्ने कांग्रेसले जनाएको छ । 

बैतडीमा समेत आधिकारिक उम्मेदवार विरुद्ध कांग्रेसबाट दुई जना ‘बागी’उम्मेदवार रहेका छन् । प्रदेश सभा क्षेत्र नम्बर (क)मा नेपाली कांग्रेसले टिकट नदिएको भन्दै हरिमोहन भण्डारी ‘बागी’उठेका छन् । उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चुनावबाट पछि नहट्ने बताएका छन् ।

बैतडीमा पनि गठबन्धन गरेको कांग्रेसले सो क्षेत्रमा बिरबहादुर बिष्टलाई उम्मेदवार बनाएको छ । तर भण्डारीले उम्मेदवारी फिर्ता नलिएपछि अहिले सो क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । खुलेर प्रचारमा नआएपनि धेरै कांग्रेसजनले आफूलाई भोट दिने भण्डारीको दाबी छ । कांग्रेसकै कार्यकर्ताको भावना अनुसार आफू चुनावी मैदानमा होमिएको उनले दाबी गरेका छन् । 

यता नेपाली कांग्रेसका उपसभापति समेत रहेका बिरबहादुर बिष्टले कांग्रेसका कार्यकर्ताहरुले आधिकारिक उम्मेदवारलाई भोट दिने बताएका छन् । माओवादीसंग समेत गठबन्धन भएकाले आफूले चुनाव जित्ने उनले बताएका छन् । उनले भने ‘पार्टीको आधिकारिक निर्णयका विरुद्ध जाने कांग्रेस हुन सक्तैन् । त्यसैले कांग्रेसमा आस्था राख्ने सबै एकजुट भएर लाग्छन् ।’

यस्तै संघीय सांसदका लागि ‘बागी’दिएका केशवबहादुर चन्दले पनि आफू निष्क्रिय नबस्ने बताइसकेका छन् । दुई जना ‘बागी’उम्मेदवारका कारण गठबन्धनको भोट प्रभावित हुन सक्ने अनुमान गरिएको छ । गठबन्धन भित्रको किचलोको फाइदा लिने दाउमा एमाले रहेको छ । 

‘बागी’उम्मेदवारहरुलाई निष्क्रिय बस्नका लागि आग्रह गरिरहेको नेपाली कांग्रेसका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए । पार्टीले ४ गतेसम्मका लागि समय दिएकाले प्रयास जारी रहेको उनले बताए । 

‘बागी’उम्मेदवारले निष्क्रिय नबसेपनि कांग्रेस नेता र कार्यकर्ता गठबन्धनका साझा उम्मेदवारको पक्षमा रहेको नेपाली कांग्रेसका कोषाध्यक्ष चन्दले बताए । पार्टीको दुवै प्रदेश सभा क्षेत्रीय समितिको बैठकले गठबन्धनका आधिकारिक उम्मेदवारका पक्षमा माओल सिर्जना गर्ने निर्णय गरिसकेकाले बागी उम्मेदवारले केही फरक नपार्ने उनको दाबी छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update