बैतडी-बैतडीको सुर्नया गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । दशैंको समयमा संयुक्त बजार अनुगमन टोलीसंग मिलेर बजार अनुगमन गरेको सुर्नयाले अहिले तिहारको पूर्व सन्ध्यामा पालिकाभित्रका बजारमा अनुगमन गरेको गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहराले जानकारी दिइन् ।
गउँपालिका भित्रका बजारहरु अनुगमन गरेर ५३ हजार बराबरका लेबल नाघेका सामग्री बरामद गरि नष्ट गरिएको उनले बताए । गाउँपालिका भित्रका बजारमा अनुशासन कायम गर्न, म्याद नाघेका सामग्री विक्रि वितरणमा रोक लगाउन र कालोबजारी हटाउन बजार अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले बताए ।
अनुगमनका क्रममा दर्ता नगरेर सञ्चालनमा रहेका पसलहरुलाई दर्ता गर्न आग्रह गरिएको छ भने उपभोक्ताहरुलाई पनि म्याद हेरेर मात्रै सामग्री खरीद गर्न आग्रह गरिएको छ । यस्तै पालिकाले व्यवसाय सञ्चालन गरेकाहरुलाई समयमै कर बुझाउन पनि अनुरोध गरेको छ ।
शनिबार देखि पालिकाले बजारहरुमा अनुगमन थालेको थियो । गाउँपालिकाका उपाध्यक्ष बोहराको संयोजकत्वमा सञ्चालन भएको बजार अनुगमन कार्यक्रममा पालिकाका कर्मचारी, प्रहरी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुर्नयाले चाड पर्व लक्षित बजार अनुगमन गरेपनि अन्य पालिकाले भने चासो दिएका छैनन् ।




