Sagun Khabar
बर्षाका कारण सुदूर पहाडमा चिसो बढ्यो, दार्चुलाको हिमाली क्षेत्रमा हिमपात 

बैतडी –मंगलबार बर्षा भएपछि सुदूर पहाडका जिल्लाहरुमा चिसो बढेको छ । बर्षाका कारण बैतडी सहित सुदूरका पहाडी जिल्लाहरुमा चिसो बढेको हो । बैतडीका उच्च लेकाली क्षेत्रमा बर्षाका कारण चिसो बढेको खोड्पेका स्थानीय मोहन बिष्टले बताए । जिल्लाको देहीमाण्डौं, मुस्याचोर, सतबाँझ, खोड्पे,श्रीभावर लगायतका ठाउँमा चिसो बढेको स्थानीयहरुले बताएका छन् । 

यस्तै दार्चुलाको  अपिहिमाल गाउँपालिका र ब्याँस गाउँपालिकाका केही स्थानहरुमा हिमपात भएको छ । आज बिहानैदेखि मौसममा आएको बदलीका कारण हिमपात, असिना र वर्षा भएको स्थानगीयहरुले बताएका छन् । मौसम बदली भएपछि अपिहिमाल गाउँपालिका वडा नम्बर १, २, ६ को उच्च भेगहरुमा हिमपात भएको अपिहिमाल गाउँपालिकाका कर्मचारी विशन बुढाथोकीले जानकारी दिए । गाउँपालिकाको घुसा, क्षेती, सिति र खात्ती लगायतका स्थानहरुको माथिल्लो भेगमा हिमपात भएको उनले बताए । 

यस्तै व्याँस गाउँपालिकाको छाङरु र तिंकरमा पनि हिमपात भएको छ । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने तिंकर छाङरुमा हिमपात भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका गुल्मपति ईस्वर भट्टले जानकारी दिए । दार्चुलाका उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update