बैतडी –मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको प्रत्यक्ष प्रणालीतर्फ सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशमा १६ प्रतिनिधिसभा सदस्य र ३२ प्रदेश सभा सदस्य गरि ४८ निर्वाचन क्षेत्र छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि सुदूरपश्चिमका दुर्गम गाउँहरूसम्म मतपत्र पुर्याइसक्नुपर्ने भएकाले चाँडै छपाइ गरिएको हो ।
आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेलगत्तै प्राथमिकतामा राखेर सुदूरपश्चिमको मतपत्र छाप्न सुरु गरेको थियो । कर्णाली प्रदेशको पनि मतपत्र छपाइ सकिएको छ । अन्य प्रदेशको मतपत्र छपाइ क्रमशः भइरहेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ ।
हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेशसभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार मतपत्र रहेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई वितरण सुरु भइसकेको छ । हालसम्म वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यहीँ कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी सुरु हुने छ ।




