बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बैतडी आउने भएका छन् ।
गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नका लागि देउवा र प्रचण्ड बैतडी आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले जानकारी दिए । कार्तिक २३ गते जिल्लाको पाटनमा चुनावी सभाको आयोजना गरिएको र सो सभामा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको भण्डारीले बताए ।
सोही दिन दुवै नेताले दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चुनाव नजिक आएपछि शीर्ष नेताहरुको देशभरी दौडधुप जारी रहेको छ ।
बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्त रुपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन् भने प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बिरबहादुर बिष्ट र प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा रहेका छन् ।
यसअघि यही कार्तिक १८ गते एमाले अध्यक्ष ओलीले बैतडीको पाटनमा चुनावी सभालाई सम्बोधन गरेका थिए ।




